Notice
- लोकसेवा गाइड - Lok Sewa Guide

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

राणाकालीन दरबार सम्पदा होइनन् ?

 मानव इतिहासमै अगुवाइको रूपमा सभ्यता, कला र संस्कृतिको चिनारी गराउने हाम्रा सम्पदाहरूको ज्वलन्त अनेक उदाहरणका साथै हालै भूकम्पपछि उत्खनन गरिएको सातौं शताब्दीको काष्ठमण्डप ज्वलन्त उदाहरण हो ।

यही सन्दर्भमा राणाकालीन दरबारहरूको निर्माण इतिहास केलाउँदा केही दरबारहरू थापा तथा बस्नेतहरूले निर्माण गराएका र पछि खरिद गरी पुनर्निर्माण तथा सुधार गरी आलिशान युरोपियन शैलीका दरबारहरू पनि केही बनेका छन्, जुन थापाथली दरबार ज्वलन्त उदाहरण हो । त्यस समयका सुन्दर दरबारहरूका निर्माता आर्किटेक दक्ष रणशुर बिष्ट तथा जोगवीर स्थापित हुन् । यसपछि युरोपियन शैलीका कलात्मक दरबारहरूका जन्मदाता चिफ इन्जिनियर कुमार नरसिंह राणा तथा किशोर नरसिंह राणा हुन् ।
भनिन्छ- श्री ३ चन्द्रशमशेरले फ्रान्सको 'भरसाइल्स' दरबारको शैलीमा एसियाकै विशाल सुन्दर सिंहदरबार यिनै इन्जिनियरद्वयद्वारा निर्माण गराएका थिए, जुन सिंहदरबार अहिले मुलुकको शक्ति केन्द्र बनेको छ । विश्वका सामु मुलुकको झन्डा फर्फराउँदै शक्ति नेतृत्वले यस दरबारभित्र प्रवेश गर्नु देशकै गौरव बनेको छ । यस दरबारभित्र प्रवेश गर्दै गर्दा इतिहासको एउटा कालखण्डको संरक्षण गर्ने प्रतिबद्धता प्रकट गर्दै र त्यस समयमा निर्माण भएका ज्वलन्त कलाकृति मनन गर्दै तिनको संरक्षण गर्न नितान्त आवश्यक छ ।
यसैगरी उक्त समयमा चिफ इन्जिनियर कुमार नरसिंह राणा तथा किशोर नरसिंह राणाद्वारा विभिन्न कालमा विभिन्न राणा प्रधानमन्त्रीहरूका दरबारहरू निर्माण गरी कला क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका छन् । उक्त राणाकालीन दरबारहरू १९९० सालको महाभूकम्पपछि प्रायः सबै क्षतिग्रस्त भएका थिए।
सन् १९११ मा अर्का दक्ष इन्जिनियर डिल्लीजंग थापा भारतको थम्पसन कलेज अफ सिभिल इन्जिनियरिङ रुड्कीबाट उत्कृष्ट नतिजा हासिल गरी नेपाल फर्के । उनले १९९० सालको महाभूकम्प अगाडिका दरबारहरूको पुनर्निर्माण र त्यसपछि राणा दरबारहरूको र्निर्माण गरे ।
सुधारिएका हुबहु नियो क्लासिक युरोपियन शैलीमा राणाकालीन दरबारहरू जसको बैठकको भित्री सजावटदेखि बाहिर दरबार भागको सुन्दर कलात्मक स्वरूपका दरबारहरूका निर्माता चिफ इन्जिनियर कर्नेल डिल्लीजंग थापा हुन् भन्नुमा अत्युक्ति नहोला । जसको ज्वलन्त उदाहरण लक्ष्मीनिवास (सन् १९२५) चिफ इन्जिनियर कर्नेल डिल्लीजंग थापाले श्री ३ प्रधानमन्त्री मोहनशमशेरको अनुरोधमा मिनी सिंहदरबार बनाएका हुन् । यस दरबारको चन्द्रसूर्य बैठक प्रमुख आकर्षण हो ।
युरोपियन शैलीका बाहिरी भागका अत्यन्त कलात्मक भिन्नाभिन्नै बुट्टाहरूले सजिएको ललितानिवास पनि चिफ इन्जिनियर कर्नेल डिल्लीजंग थापाले निर्माण गरेका हुन् । दुःखको कुरा, आज यी दुवै सुन्दर दरबार भत्काइएका छन् ।
लक्ष्मीनिवास तथा ललितानिवासको अगाडिको कुनै सुन्दर अवशेष रेट्रोफिटिङ गरेर सम्पदाको रूपमा संरक्षण गर्नुपर्नेमा सम्पूर्ण दरबार भत्काइयो । हुन त दुवै दरबारहरू हुबहु उस्तै बनाइने भनिएको छ, तर त्यस समयमा स्वदेशी निर्माण सामग्री प्रयोग गरेर बनाइएका पुरातात्विक भवन र नयाँ बनाउनुमा धेरै भिन्नता छ ।
१९९० सालको महाभूकम्पपछि क्षतिग्रस्त सिंहदरबारको ग्यालरी, बेलायती बैठक तथा पुतली बगैंचा पनि चिफ इन्जिनियर कर्नेल डिल्लीजंग थापाले दक्षताका साथ निर्माण गरेका हुन् ।
श्री ३ भीमशमशेर राणा प्रधानमन्त्री भएपछि उहाँका रानी सीताको लागि 'सीता भवन' १९८७÷८८ सालमा निर्माण गरिएको भेटिएको छ । पहिला ठिक्कको दरबार बनाउनु भनेबमोजिम इन्जिनियर डिल्लीजंग थापाद्वारा निर्माण भएको तर पछि बढाउन अनुरोध भएकोले बायाँ मोडमा दरबार थपिएको प्रस्ट देखिन्छ ।
युरोपियन शैलीको कलात्मक यस दरबार सीता भवनका बैठकको भित्री सजावट अत्यन्त आकर्षक छ, जसमा अमूल्य राता सायन्डिलर्स (बक्रीका झाडीहरू) राता कटवर्कका ऐनाहरू त्था प्रत्येक भागमा कलात्मक पिल्लरहरू तथा बुट्टाहरू काटिएका छन् । सिलिङमा बाक्ला टिनहरू इम्बोज गरेर पछि यसमा झ्याल हाली सुतेर आकर्षक रंगहरू भरिएका थिए ।
यसका साथै कलात्मक रेलिङहरू डोरम्यान लंग मिडल्सबर्ग लन्डनबाट झिकाइएका फलामका बिमहरू प्रायः सबै थापाले निर्माण गरेका दरबारहरूमा भेटिएका छन्, जुन प्रतिष्ठित कम्पनी अहिले पनि जसले सिडनी हाबी ब्रिज तथा हालै चेल्सी स्टेडियम निर्माण गरेका हुन् । जुन कम्पनीसँग मेरो सम्पर्क छ । यी सीता भवनभित्र सजावटमा फर्निचरहरू पर्दा वालपेपर, पसियन कार्पेटहरू तथा अन्य सजावटका सामानहरू सबै इन्जिनियर डिल्लीजंग थापाद्वारा युरोपबाट स्वयंले झिकाएका हुन् ।
जुन कुराको प्रमाण उहाँको व्यक्तिगत क्याटलगहरू हामी परिवारसँग सुरक्षित छ । सीता भवन मैले अनुसन्धान गरेका दरबारहरूमध्ये विशेष संरक्षण गर्नुपर्नेमा पर्छ । किनभने यस दरबारले दुईवटा ठूला महाभूकम्पहरू १९९० ला तथा २०७२ साल खेपेर न्यून क्षतिमा संरक्षित छ । यसले इन्जिनियरिङ दक्षताको विशेषता झल्काउँछ, जसलाई संरक्षण गर्नु भावी इन्जिनियरिङ अध्ययनको लागि पनि नितान्त जरुरी छ ।
मनसुनको सुरुआतदेखि दैनिक सीता भवन स्थलगत निरीक्षण गरी भूकम्पद्वारा छतमा भएको क्षतिलाई पानी चुहिनबाट जोगाउने छोप्नुपर्ने अनुरोध सम्बन्धित निकायलाई गर्दा पनि नछोपिएकाले भूकम्पद्वारा न्यून क्षति भएको दरबारका केही कक्षहरू क्षतिग्रस्त बन्दै हल्लिने अवस्थामा पुगेका छन् ।
रेट्रोफिटिङद्वारा संरक्षण गर्नुपर्ने उक्त दरबार सीता भवनको बैठक कक्ष जहाँ अमूल्य सजावटका सामानहरूले सुसज्जित छन् । यसलाई व्यापारिक प्रयोजनको लागि प्रयोग गर्न निषेध गर्नु आवश्यक देखिन्छ ।
यसरी युरोपियन शैलीका राणा दरबारहरू हुबहु निर्माण गरिएको छ । निर्माण प्रविधिमा प्रमुख प्रयोग माटो देलिन्छ । इँटाहरू निर्माण गर्न दरबारपरिसरवरिपरिका जमिनहरूको उत्खनन गरी माटोद्वारा इँटाभट्टा त्यहीं निर्माण गरी श्री ३ हरूको नाम छाप गरी चौडा मजबुत इँटाहरू निर्माण गरिएका छन् ।
सिमेन्टभन्दा बलियो बज्र निर्माणको प्रमुख प्रविधि हो, जसमा माटो, मासको दाल, चाकु, भुस, जुट, इँटाका टुक्राहरू प्रयोग गरिएको छ । दरबारका गाह्राहरूको चौडाइ ५२ 'देखि ५४' सम्मका छन् । दरबारका जग पनि अत्यन्त मजबुत तथा ड्याम्प प्रुफ प्रविधिबाट निर्माण गरिएका छन्, जसलाई हाउस भनिन्छ ।
यसरी उक्त प्राविधिक कठिनाइका बेलामा पनि अत्यन्त दक्षताका साथ आफ्नै प्रविधि प्रयोग गरी युरोपबाट झिकाइएका निर्माणका सजावटमा बनेका यी दरबारहरूको क्षति निरीक्षण राम्ररी नगरी भूकम्पको निहुँमा पुनर्निर्माण गर्दाभन्दा ३० प्रतिशत बढी खर्च लागेमा सबै दरबारहरू भत्काउने निर्णय सहरी विकास पुराना भवन संरचना विभागको गलत निर्णय हो ।
लेभल क्षतिको अवस्था 'लेभल चार' भन्दा मुनिका रेट्रोफिटिङद्वारा पुनर्निर्माण गर्न सकिन्छ । ३० प्रतिशतभन्दा बढी खर्च लागेमा भत्काउने मापदण्ड गलत छ । देशका सम्पदाहरूको मर्मतमा शतप्रतिशत बढी लागे पनि रेट्रोफिटिङ गरी यस्ता दरबारहरूलाई पर्यटकीय क्षेत्रमा विकास गर्दै सेन्ट पिटसबर्ग दरबार, भरसाइल्स दरबार तथा ह्याम्पटन कोर्टजस्तो बनाउन सकिँदैन र ? आर्थिक सहयोगको लागि अन्तर्राष्ट्रिय दाताहरू प्रशस्त भेटिन्छन् ।हुन त गणतन्त्रपछि खोसिएको नारायणहिटी राजदरबारको दयनीय अवस्थाले नै हामी संरक्षणप्रति कत्तिको जिम्मेवार तथा सचेत छौं भनेर प्रस्ट पारेको छ ।
अनेक विवाद हुँदाहुँदै पनि यी पुराना राणाकालीन दरबारहरू संरक्षण गर्नुपर्ने अगुवाइ लिँदै पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृति डा. गोविन्द पोखरेल तथा केही पुराना सम्पदा संरक्षकहरूको सहयोगमा हाल यी दरबारहरू भत्काउने कार्यको पुनः निरीक्षण हुने र मिले रेट्रोफिटिङ गर्नेमा सम्बन्धित निकायले सोचेको खुसीको खबर पनि सुनिएको छ । सिंहदरबारको ग्यालरी बैठक भत्काउने प्रयास असफल हुनु पनि उहाँहरूको प्रयास सराहनीय छ ।
यसरी विभिन्न कालखण्डमा बनेका देशका इतिहास, कला, संस्कृति भत्काउने सम्पदाहरू संरक्षण गर्नु देशको मात्रै जिम्मेवारी नभई हामी सबैले यसको लागि आआफ्नो क्षेत्रबाट सक्दो केही प्रयास गर्नु निनान्त जरुरी छ ।
२०७४ -०४- ३२ अन्नपूर्ण पोष्टमा प्रकाशित
Author: चन्दा राणा
Source: Annapurna Post

Other Articles Topics

S.N Title Description
1 सिंहावलोकनमा संवैधानिक अभ्यास – टिकाराम भट्टराई
2 नेपालको शिक्षा र अर्थतन्त्र
3 कतै भ्रष्टाचार ‘सुन्ने सहनशीलता’ त हुने होइन ?
4 सङ्घीयताको स्थायित्व
5 कर्मचारी भर्ना नरोकौँ
6 विद्युतीय रेल : छिमेकीसँग मेल कि झेल ?
7 उपभोक्ता समिति: अवसर र चुनौती
8 विदेश बस्नेलाई मताधिकारका जटिलता
9 बिम्स्टेक सम्मेलन सकियो, तर...
10 वन र बारी वारि र पारि